बाबुको स्मृतिमा गुरुकुललाई पाँच लाख दान
विहीबार कुसे औंशी अर्थात बाबुको मुख हेर्ने दिन । यो दिन सबैले आफ्ना बाबुलाई भेट्न, मिठो मसिनो खुवाएर खुशी पार्ने गर्छन । कामको शिलशिलामा सँगै नभकाहरुले पनि फोन र फेसबुकबाट बाबुलाई सम्झने गरेका छन् । आफ्ना बाबु दिवगंत भइसकेका छन भने पनि मठमन्दिर जाने दान दक्षिणा दिएर आफ्नो बाबुलाई सम्झने गर्छन् । धेरैको चटारो विहीबार यस्ते देखिन्थ्यो । तर, इलाम नगरपालिका वडा नं. २ निवासी चन्द्र र दिब्या भट्टराईले भने अलिक फरक तरिकाले आफ्ना स्वर्गीय बाबुलाई सम्झे । उनीहरुले आफ्ना बाबुलाई संझन कुनै मठमन्दिर गएनन् । बरु आफ्ना बाबुको संकल्प पूरा गर्नका लागि बरबोटेमा रहेको सप्तमाई गुरुकुल बाङ्मय अध्ययन अनुसन्धान केन्द्रलाई रकम हस्तान्तरण गरे । त्यो पनि हजार होइन, पाँच लाख रुपैयाँ । सरकारी अनुदान थोरै र धेरै दाताहरुको सहयोगले चल्दैं आएको केन्द्रका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशी सहयोग गर्नेमा चन्द्र र दिब्या नै दरिए । सहयोग हस्तान्तरण कार्यक्रममा बोलाइएका अतिथिहरुलाई सोही ठाउँमा पितृ प्रसाद पनि खुवाउन भ्याए । दुई–चार महिना अगाडि अध्ययन केन्द्रमा गएका चन्द्र भट्टराईले भाटाको टाटीले बारेर अध्ययन गरिरहेका संस्कृतका विद्यार्थीहरुलाई देखे । उनको मन रसायो । केहि सहयोग गरौं भन्ने मन भित्रबाटै अनुभूत भयो । र, श्रीमती दिब्यासँग सल्लाह गरेर एउटा भनव निर्माण गरिदिने सोंच बनाए । जुन कुरा उनका स्वर्गीय बाबु धनपति भट्टराई र शान्ता भट्टराईको पनि संकल्पसँग मिल्थ्यो । भवन बनाउन पुग्ने रकमको चेक उनीहरुले कुसे औशीं अर्थात उनै बाबुको मुख हेर्ने दिनको साइत पारेर केन्द्रलाई हस्तान्तरण गरेका हुन् । चन्द्र र दिब्याले केन्द्रका अध्यक्ष अर्जुन थापालाई चेक हसतान्तरण गरेका थिए । हस्तान्तरण गर्दै उनले धन भएर हौयन मन भएर आफूले केन्द्रलाई सहयोग गरेको बताए । सँगसँगै उनले अरुलाई पनि सहयोगका लागि आव्ह«ान गरे । ‘मसँग धन भएर होइन, मनले मात्र सहयोग गरेको हुँ, केन्द्र र यहाँका विद्यार्थीहरुको भविष्यका लागि ऋण लिएरै भएपनि यो रकम केन्द्रलाई दिएका हौं ।’ चन्द्रले भने, ‘मेरो बुबाले पनि कुनै पार्टी पौवा बनाउन पाए हुन्थ्यो भनेर सोच्नुहुन्थ्यो, उहाँको मनोकांक्षा पूरा गर्नका लागि पनि यो सहयोग गरेका हौं ।’
कार्यक्रम कुसे औशींका दिन जराइएकाले कार्यक्रममा उपस्थित अतिथिहरुले पनि केन्द्रलाई दान गरेर आफ्ना बाबुलाई सम्झेका थिए । कार्यक्रममा अतिथि बनेर आएका स्थानीय विकास अधिकारी सुमन घिमिरेले फोनबाट बाबुसँग कुरा गरेर बाबुलाई सम्झे पनि भेट नभएकाले एक महिनाको तलब केन्द्रलाई प्रदान गरेका थिए । उनले भने बाबुसँग फोनबाट मात्र भेट, भयो, बाबुकै सम्झनामा एक महिनाको तलब केन्द्रलाई । यसरी कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारीले पनि एक हजार एक सय रुपैंयाँ केन्द्रलाई दिएका थिए । उनले कार्यालयको तर्फबाट भरखरै दुई कोठे भवन सहयोग गरेको र अब एक थान कम्प्युटर केन्द्रलाई उपलब्ध गराउने बताए । यसरी कार्यक्रममा आएका निमिक्त प्रहरी नायव उपरीक्षक कबिन्द्र कार्कीले पनि आफ्नो स्वर्गीय बाबुको स्मृतिमा पाँच हजार एक केन्द्रलाई हस्तान्तरण गरे । कार्यक्रममा उपस्थित रत्न र विष्णु कोइरालाले पनि आफ्ना बाबु आमाको नाममा पाँच हजार एक रुपैंया केन्द्रलाई दान दिएका थिए । यसरी नै चन्द्र भट्टराईकै दिदी मेनुका थपलियाले पनि आफ्ना बाबु आमाको संझना गर्दै एघार सय रुपैंया केन्द्रलाई दान गरेकी थिइन् ।
केन्द्रका अध्यक्ष अर्जुन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रका उपाध्यक्ष गोविन्द पौडेल, सल्लाहकार तायानाथ भट्टराई, सोमनाथ बास्तोला, महेश बस्नेत, बेनुपराज प्रसाईं, इलाम नगरपालिकाका निमित्त प्रमुख रामकुमार साह, स्रोत ब्यक्ति टिका निरौंला, उद्योग वाणिज्य संघकी अध्यक्ष सुशीला सापकोटा, चन्दादाता लगायतले केन्द्रको प्रगतिको कामना गरेका थिए । कार्यक्रममा चन्दा दाता चन्द्र र दिब्या भट्टराईलाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।
